व्यक्तिका लागि सरकारी जग्गामा बाटो सिफारिस !

http://www.dhampus.org/

११ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका– १४ को कार्यालय परिसरमा आइतबार बिहान मानिसहरुको एउटा समूह आएर नारा लगायो, ‘सार्वजनिक जग्गा मिच्न पाइँदैन, भ्रष्ट वडाध्यक्ष चाहिँदैन ।’

कलंकी मालपोत कार्यालयको पछाडिको १४ आना सार्वजनिक पर्ती जग्गालाई महानगरपालिकाले व्यक्तिलाई लाभ हुने गरी सहायक पिच बाटो भनेर सिफारिस गरेको भन्दै उनीहरु वडा कार्यालय घेर्न पुगेका थिए ।

त्यहाँका एक जनाले कित्ता नम्बर ९७ र ९८ मा सार्वजनिक जग्गातर्फ घरको गेट निकालेर बाटो माग गरेका थिए, त्यसमा वडा कार्यालयले सिफारिस गरेको थियो । सार्वजनिक प्रयोजन जग्गालाई व्यक्तिको जग्गाको मूल्य बढ्ने गरी बाटो कायम गरिएकोमा स्थानीय आक्रोशित थिए ।

केही बेरपछि केही अगुवा वडाध्यक्षको कार्यकक्षमा पसेर मिलमतोमा सार्वजनिक जग्गा मिचेर व्यक्तिलाई लाभ हुने गरी बाटो कायम गरिएको भन्दै छानविन गर्न माग गरे । वडाध्यक्ष शोभा साकोटाले फाँटका कर्मचारीको विश्वासमा परेर आफूले यस्तो निर्णय गरेको स्पष्टीकरण दिइन् ।

बाटो लागि सिफारिस गर्ने कर्मचारीले चाहिँ १० वर्षदेखि मान्छे त्यही जग्गा भएर हिँडेको र गेट पनि त्यतैपट्टि देखेकाले सिफरिस गरेको तर्क गरे । तर स्थानीयले ६ महिनाअघि आएको कर्मचारीलाई १० वर्षदेखि त्यो बाटो हो भनेर कसरी थाहा भयो भन्दै हप्काएर कालोनिलो बनाए ।

वडा सचिव निर्मला सुवेदी प्राविधिक कर्मचारी नभएकाले गल्ती भएको स्पष्टीकरण दिएर पन्छिइन् । साथै आफूले पैसा खाएको प्रमाण भए लिएर आउन चुनौती दिइन् ।

स्थानीय अगुवाहरुले भने वडाध्यक्षले ‘म फिल्डमा गएको छैन’ भनेर सुख नपाउने र कानूनी तथा नैतिक जिम्मेवारी लिनुपर्ने माग गरेका छन् ।

त्यसपछि वडाध्यक्ष केही लचिलो बनिन् । उनले विवादित जग्गामा तारबार गर्ने भन्दै केही दिन समय मागिन् । ‘कारवाहीको पनि प्रक्रिया हुन्छ, हामीले बदमासी गरेको भए महानगरको न्यायिक समितिले हेर्ला । सरकार छ, अख्तियार छ, अदालत छ,’ उनले भनिन्, ‘दिनमा सयौं घरबाटोको सिफारिस गर्नुपर्छ, मैले त कर्मचारीको विश्वास गर्ने हो, सचिवलाई तोक लगाएर पठाउँछु, गल्ती भएको थाहा पाउँदा सच्याइहाल्छु !’


स्थानीयबासी भने तत्कालै कडा कदम नचाले आन्दोलन गर्ने चेतावनी दिएर बाहिरिएका छन् । सञ्चारकर्मीसँगको कुराकानीमा सापकोटाले कुनै पनि वडाध्यक्षले सबै ठाउँमा आफैं पुगेर हेरेर बाटो सिफारिस गर्न नसक्ने भन्दै कर्मचारीको विश्वासमा पर्दा गल्ती भएको बताइन् ।

संलग्न कर्मचारीलाई कारवाहीका लागि महनगरपालिकामा पत्र लेख्ने प्रतिवद्धता पनि जनाइन् ।

श्रोत : अनलाइनखबर


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top