अपारदर्शी खरिद प्रक्रियाको विरोध गर्ने लेखाप्रमुखमाथि सरकारको प्रतिशोध

http://www.dhampus.org

तीन दिनअघिको मिति राखेर स्पष्टीकरण

सुवास भट्ट काठमाडाैं २०७६ चैत २९ शनिबार

स्वास्थ्य सामग्री खरिद प्रक्रियामा प्रश्न उठाउने स्वास्थ्य सेवा विभागका लेखाप्रमुख केशव प्रसाईंलाई सरुवा गरेर मात्रै सरकारले चित्त बुझाएको छैन, कारबाही प्रक्रिया पनि अघि बढाएको छ । ‘अनुशासनहीन’ काम गरेको आरोपमा उनलाई कारबाही गर्ने विभागको तयारी छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयबाट १५ दिनअघि मात्र विभागमा सरुवा गरिएका प्रसाईंलाई मंगलबार राति एकाएक कारागार व्यवस्था विभाग डिल्लीबजार सरुवा गरिएको थियो । उनी २६ चैतमा कारागारमा हाजिर पनि भइसकेका छन् । तर, विभागले ‘ब्याकडेट’मा पत्र जारी गरेर शुक्रबार प्रसाईंसँग स्पष्टीकरण मागेको छ । पत्रमा ‘तपाईंलाई किन कारबाही नगर्ने’ भन्दै प्रश्न गरिएको छ । 

स्वास्थ्य मन्त्रालयले गत सोमबार स्वास्थ्य विभागलाई पत्र लेखेर ४० करोड २२ लाखबराबरको स्वास्थ्य सामग्री खरिदका लागि टेन्डर गर्न निर्देशन दिएको थियो । त्यसमा प्रसाईंसहित विभागको आर्थिक प्रशासन शाखाका तीन अधिकारीले मन्त्रिपरिषद्ले जिटुजी प्रक्रियाबाट खरिद गर्ने निर्णय गरेकाले त्यस्तै सामग्री खरिद गर्न अर्को टेन्डर खोल्न नहुने भन्दै असहमति जनाएका थिए । 

तर, आर्थिक प्रशासन विभागको सुझाबलाई बेवास्ता गर्दै मंगलबार टेन्डर सूचना प्रकाशित गरिएको थियो । त्यसअघि विभागले एक अर्ब २४ करोडको स्वास्थ्य सामग्री खरिद गर्न गरेको टेन्डर प्रक्रियामा पनि प्रसाईंको असहमति थियो । लामो समय सार्वजनिक खरिद अनुगमन कार्यालयमा कार्यरत रहेका प्रसाईं सरकारी ढुकुटीबाट खर्च गर्दा कानुनसम्मत हुनुपर्ने अडानमा थिए । 

आर्थिक प्रशासन शाखाबाट अपेक्षाविपरीत राय आएपछि स्वास्थ्य विभाग र मन्त्रालय प्रसाईंसँग चिढिएका थिए । त्यही भएर सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सरुवा भएर आएको दुई सातामै उनलाई कारागार सरुवा गरिएको थियो ।

प्रसाईंले सरुवा भएर अर्कै मन्त्रालयमातहत आइसकेपछि स्वास्थ्य विभागले आफूलाई स्पष्टीकरण सोधेको बताए । ‘२५ चैतमा मेरो सरुवा भएको हो । २६ चैतदेखि कारागार व्यवस्थापन विभागमा हाजिर छु । अहिले म गृह मन्त्रालयअन्तर्गतको कर्मचारी हो । गृह मन्त्रालयको कर्मचारी भएको अवस्थामा पनि मलाई स्वास्थ्य विभागले स्पष्टीकरण सोधेको छ । २५ गते सरुवा भएकोमा मलाई त्यही दिनको मिति राखेर पत्र थमाइएको छ’, उनले भने । साथीभाइ र आफन्तसँग सरसल्लाह गरेर स्पष्टीकरणको उचित जवाफ दिने प्रसाईंले बताए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले भने सरुवा हुनुअघि नै प्रसाईंलाई स्पष्टीकरण सोधिएको दाबी गरे । ‘उहाँलाई दुई दिनअघि नै स्पष्टीकरण सोधिएको हो । स्पष्टीकरणको जवाफ आइपुगेको छैन । सरुवा भए पनि उहाँले रमाना अझै पनि लिनुभएको छैन । यी ‘अफिसियल’ कुरा हुन् । सबै भन्न मिल्दैन,’ उनले भने । 

श्रोत : नयाँ पत्रिका डटकम


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top