कुल ग्रार्हस्थ उत्पादनमा बाग्मती प्रदेशको योगदान बलियो
काठमाडौं बैशाख ३०, २०७७
मुलुकको कुल गार्हस्थ उत्पादन (जिडिपी)मा बागमती प्रदेश बलियो देखिएको छ । देशको कुल गार्हस्थ उत्पादनमा बाग्मती प्रदेशको मात्रै ३५.८४ प्रतिशत योगदान रहेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ ।
बागमती प्रदेशको अर्थतन्त्रको आकार १३ खर्ब ५० अर्ब हुने सरकारी अनुमान छ । केन्द्रीय तथ्यांक विभागका अनुसार ३७ खर्ब ६७ अर्ब रुपैयाँको जिडिपीमा यो प्रदेशको हिस्सा एक तिहाई भन्दा बढी रहेको छ ।
यसैगरी कुल जिडिपिमा प्रदेश १ को हिस्सा १५.८२ प्रतिशत, प्रदेश ५ को हिस्सा १४.१८ प्रतिशत, प्रदेश २ को हिस्सा १३.७८ प्रतिशत, गण्डकी प्रदेशको हिस्सा ८.९ प्रतिशत, सुदूरपश्चिमको हिस्सा ७.२१ प्रतिशत र कर्णाली प्रदेशको हिस्सा ४.२७ प्रतिशत रहने विभागको अनुमान छ ।
कुन प्रदेशको अर्थतन्त्रको आकार कति ?
प्रदेश १ को ५ खर्ब ९६ अर्ब, प्रदेश २ को ५ खर्ब १९ अर्ब, प्रदेश ३ अर्थात बाग्मती प्रदेशको १३ खर्ब ५० अर्ब, गण्डकी प्रदेशको ३ खर्ब ३५ अर्ब, प्रदेश ५ को ५ खर्ब ५४ अर्ब, कर्णली प्रदेशको १ खर्ब ६१ अर्ब र सुदुरपश्चिम प्रदेशको २ खर्ब ७२ अर्ब हुने अनुमान गरिएको छ ।
चालु आर्थिक बर्षको आर्थिक बृद्धिदरमा बागमती प्रदेश सबैभन्दा कमजोर हुने देखिएको छ । यसवर्ष यो प्रदेशको आर्थिक बृद्धिदर १.३ प्रतिशत हुने अनुमान छ । यस्तै प्रदेश १ को ३.४१ प्रतिशत, प्रदेश २ को २.२८ प्रतिशत, गण्डकी प्रदेश २.६८ प्रतिशत, प्रदेश ५ को २ प्रतिशत, कर्णाली प्रदेशको ३.५६ प्रतिशत आर्थिक बृद्धिदर हुने अनुमान छ । आर्थिक बृद्धिमा सबैभन्दा बलियो सुदुरपश्चित देखिने भएको छ । यहाँको आर्थिक् बृद्धिदर ४.०८ प्रतिशत रहने अनुमान छ ।
यद्यपि सबै प्रदेशमा कोरोनाको कारण आर्थिक बृद्धिमा नराम्रो धक्का दिने भएको छ । गत बर्षको भन्दा निकै कम आर्थिक बृद्धिको आंकलन गरिएको छ ।
श्रोत : नयाँ पत्रिका डटकम
