काठमाडौंमा राष्ट्रवादको नारा घन्किरहँदा कालापानीमा भारतको अवरोध

http://www.dhampus.org/

नरेन्द्रसिंह कार्की ,दार्चुला, असार ३१

सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालका तीन गाउँ कुटी, गुञ्जी र नावी अहिले पनि भारतमा छन्। पुरानो नक्साअनुसार ६२ वर्गकिलोमिटरभित्रको कालापानी क्षेत्रसम्म पनि नेपालीको पहुँच पुगेको छैन।

दार्चुलाको व्यास गाउँपालिकाका बासिन्दालाई आफ्नै भूमि कालापानीसम्म आवतजावत गर्न भारतले रोक लगाएको छ। विगतमा कालापानी मुहान नजिकैसम्म आवतजावत गर्न स्थानीयलाई दिने गरिएकामा अहिले भारतीय सुरक्षाकर्मीले रोेकेका हुन्।

नेपाल सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा सार्वजनिक गरेपछि झन् भारतले कालापानीभन्दा तल आएर सुरक्षा तैनाथी बढाएको छ। पहिलाको भन्दा झण्डै १ किलोमिटर तलसम्म भारतले छेकबार लगाएको छ।

कालापानीसम्म नेपालका सुरक्षाकर्मीले समेत जान पाएका छैनन्। व्यासको गागामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले काली मन्दिरसम्म जाने प्रयास गरे पनि भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्। महाकाली नदीको मुहान हेर्न गएका सुरक्षाकर्मीलाई भारतीय सुरक्षाकर्मीले रोकेका हुन्।

स्थानीय यो क्षेत्रमा अहिले जान सक्ने अवस्था छैन। चीनसँग पछिल्लो समय सीमा विवाद बढेपछि कालपानी क्षेत्रमा भारतीय सुरक्षाकर्मीले बाक्लो उपस्थिति जनाएको छ। यो क्षेत्रमा दैनिक सयौँ‘ गाडीमा सुरक्षाकर्मी पु¥याइएको छ।

व्यासमा खटिएका एक नेपाली सुरक्षाकर्मीका अनुसार भारतीय सुरक्षाकर्मीले महाकालीको मुहानसम्म जान रोक लगाएको छ।

‘बिनाहतियार त्यहाँसम्म जान दिन आग्रह गर्‍यौँ,’ ती सुरक्षाकर्मीले भने, ‘तर उनीहरूले त्यो ठाउँसम्म जान नपाइने भन्दै रोके।’

नेपालका सुरक्षाकर्मी कौवा क्षेत्रमा जानेबित्तिकै भारतपट्टिबाट सुरक्षाकर्मीले रेकी गर्छन्। गस्ती गरेकोबारे उनीहरूले माथिल्लो क्षेत्रमा मोटरसाइकलमा परिचालन भएर खबर गर्ने गरेका छन्।

कालापानी क्षेत्रमा प्रवेश गर्न नदिने माथिकै आदेश छ भन्दै एसएसबी (सशस्त्र सीमा बल) ले रोक्ने गरेको छ। पहिलो घेरामा एसएसबी तैनाथ छन्। सशस्त्र प्रहरी गस्ती टोलीको नेतृत्व प्रहरी निरीक्षक लिलीबहादुर चन्दले गरेर त्यो क्षेत्रमा जाँदा भारतीय एसएसबीले फर्काएको थियो।

माथिल्लो कौवा क्षेत्रसम्म जान पनि अहिले स्थानीय डराउने गरेका छन्। आफ्नै भूमि भएर जान पनि स्थानीयमा अहिले त्रास छ। कालापानी क्षेत्रमा पुगेका दीपक खातीले भारतीय सुरक्षाकर्मीले नेपाली जनता र सुरक्षाकर्मीलाई यो क्षेत्रमा आवतजावत गर्न नदिनु दुःखद् भएको बताए।

सरकारले जारी गरेको नयाँ नक्साअनुसार नेपालका तीन गाउँ कुटी, गुञ्जी र नावी अहिले पनि भारतमा छन्। गुञ्जी र नावी गाउँ छाङ्गरु र माथिल्लो कौवा क्षेत्रबाट देख्न सकिन्छ। तर कुटी देखिँदैन। पुरानो नक्साअनुसार ६२ वर्गकिलोमिटरभित्रको कालापानी क्षेत्रसम्म पनि नेपालीको पहुँच पुगेको छैन।

खाती भन्छन्, ‘नयाँ भूमिमा पुग्न त कहाँ हो कहाँ, पुरानै भूगोलसम्म पनि भारतले अवरोध गरेको देख्दा नरमाइलो लाग्छ।’

छाङ्गरुका बासिन्दाका अनुसार काठमाडौँमा राष्ट्रियताको नारा लाग्दा यो क्षेत्रका नागरिकले बढी समस्या झेल्छन्। स्थानीय पुष्कर बोहरा भन्छन्, ‘जति काठमाडौँमा राष्ट्रियताको नारा लगाउँदै कालापानी हाम्रो भूमि हो भन्दै जान्छौँ त्यति भारतीय सुरक्षाकर्मीले यो क्षेत्रमा मजबुत उपस्थित जनाउँदै नेपालीलाई यो क्षेत्रमा हिँड्डुल गर्नमा समस्या गर्छ।’

विगतमा नेपालका सुरक्षाकर्मी र स्थानीय बासिन्दा कालापानी क्षेत्रको दक्षिणी किनारासम्म आवतजावत गर्ने गर्थे। कालापानीमा निर्माण गरिएको काली मन्दिर र महाकालीको नक्कली मुहानसम्म विगतमा छाङ्गरुका बासिन्दासमेत जाने गरेका थिए। कालापानी क्षेत्रको भूगोल र भारतीय सुरक्षा उपस्थितिबारे नेपाली पक्षलाई जानकारी हुन्छ भनेर अवरोध गरिएको बुझाइ छ सुरक्षाकर्मीको।

भारतीय सुरक्षाकर्मीले माथिल्लो कौवासम्म आफ्नो नियन्त्रणमा राख्न थालेपछि स्थानीयले नेपालको सशस्त्र प्रहरीलाई कौवा क्षेत्रमा राख्न पटक–पटक माग गरिरहेका छन्।

‘सशस्त्र प्रहरी गागाभन्दा पनि कौवा क्षेत्रमा उपयुक्त हुन्छ भनेर पटक–पटक आग्रह गर्दै आएका छौं,’ व्यास गाउँपालिका–१ का वडाध्यक्ष अशोकसिंह बोहराले भने, ‘तर सशस्त्र प्रहरी गागामै बस्यो। सशस्त्र प्रहरीका लागि कौवा क्षेत्र उपयुक्त हुन्छ। भारतको गुञ्जीमा तीनवटै सुरक्षा निकायको उपस्थिति छ। तर हाम्रो भने झण्डै १० किलोमिटर तल गागामा बसेर हुँदैन।’

सशस्त्र प्रहरीले कौवा क्षेत्रमा बीओपी स्थापना गर्ने तयारी गरेको छ। सीमाक्षेत्रको निगरानीका लागि व्यासको कौवा क्षेत्र र तिङ्करमा बीओपी स्थापना गर्ने तथा छाङ्गरुमा गुल्म राख्ने तयारी गरिएको छ। सशस्त्र प्रहरीको भवन निर्माणका लागि सरकारले बोलपत्र आह्वान गरिसकेको छ। रासस

श्रोत : नेपाल खबर डटकम


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top