प्रदेश सांसद थापालाई कारबाहीको माग गर्दै संसदीय दलमा उजुरी

http://www.dhampus.org/

गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापालाई कारबाहीको माग गर्दै नेकपा गण्डकी प्रदेश कमिटी र संसदीय दलमा उजुरी परेको छ ।

वैशाख २६, २०७७ दीपक परियार

पोखरा — जातीय विभेदको घटनामा आरोपीको पक्षमा विज्ञप्ति जारी गर्ने गण्डकी प्रदेशका सांसद कृष्णबहादुर थापालाई कारबाहीको माग गर्दै नेकपा गण्डकी प्रदेश कमिटी र संसदीय दलमा उजुरी परेको छ । 

नेकपा निकट दलित नेता एवं संगठनले शुक्रबार सांसद थापालाई कारबाहीको माग गर्दै उजुरी दिएका हुन् । नेकपाको प्रदेश समिति, कास्की जिल्ला समितिमा रहेका दलित नेता, दलित मुक्ति मोर्चा र उत्पीडित जातीय मुक्ति समाजका सचिवालय सदस्य र दलित जनप्रतिनिधिले पार्टी कार्यालयमा उजुरी बुझाएका हुन् । उजुरीमा उक्त विज्ञप्तिको भर्त्सना गर्दै पार्टी विधानबमोजिम सांसद थापालाई कारबाही गर्न माग गरेको नेकपाका प्रदेश समितिका एक सदस्यले बताए । ‘सांसदको लेटरप्याड दुरुपयोग गरेर विभेदजन्य घटनामा आबद्धलाई बिनासर्त रिहाइ गर्ने माग गर्नु र दलित अधिकारकर्मीलाई उच्छृंखल तत्व भन्नु खेदजनक छ,’ ती नेताले भने, ‘पार्टीको अन्तरिम विधान–२०७५ को धारा ५६ अनुसार कारबाही गर्न माग गरेका छौं ।’ झन्डै ८० दलित नेता कार्यकर्ताको सहमतिसहित ५० जनाले हस्ताक्षर गरेर उजुरी बुझाएको उनले बताए ।

नेकपाका गण्डकी प्रदेश सचिव एवं मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार गोविन्दबहादुर नेपालीले उजुरी बुझेको स्वीकारे । संसदीय दलका नेता एवं मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दिइएको उजुरी र पार्टी कमिटीलाई दिइएको उजुरी आफूले बुझेको उनले बताए । ‘पार्टी पदाधिकारी जम्मा भएपछि उजुरीउपर आवश्यक प्रक्रिया अगाडि बढ्छ,’ उनले भने, ‘संसदीय दलले पनि प्रक्रिया अगाडि बढाउँछ ।’

नेकपाको अन्तरिम विधान २०७५ को धारा ५६ अनुसार जातीय विभेदमा संलग्न हुने र प्रश्रय दिने नेता कार्यकर्तालाई अवस्था हेरेर आत्मालोचनादेखि पार्टी सदस्यबाट निस्कासन गर्नेसम्मको व्यवस्था छ ।

पोखरा–१६ बाटुलेचौरमा सार्वजनिक किरियापुत्री भवन स्थानीय क्षत्री समुदायले दलितलाई प्रयोग गर्न नदिएको विषयमा मोहन सुनारले प्रहरीमा उजुरी दिएका थिए । जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत सुनारले दिएको उजुरीको आधारमा रामबहादुर जीसी र जनक थापा पक्राउ परेका छन् । उनीहरुलाई म्याद थप गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

नेकपाका प्रदेश कमिटी सदस्य एवं कास्की जिल्ला अध्यक्ष समेत रहेका सांसद थापाले बिहीबार विज्ञप्ति जारी गरी नेकपाका वडा सचिवलाय सदस्य जीसी र थापालाई बिनासर्त रिहाइ गर्न माग गरेका थिए । प्रेस विज्ञप्तिमा उनले दुई जनालाई प्रहरीले षड्यन्त्रपूर्वक हिरासतमा लिएको आरोप लगाएका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘केही उच्छृंखल तत्वहरुले जातीय विभेदको नाम दिएर जातीय अतिवादलाई प्रोत्साहित गर्ने जातिवादी नेता कार्यकर्ताहरुको षड्यन्त्रले सदियौंदेखि भइरहेको हाम्रो सामाजिक सद्भावलाई धमिल्याउने काम भएको छ ।’ सांसद थापा बाटुलेचौरकै स्थानीय हुन् ।

परियार सेवा समाज, मिजार समाज र विश्वकर्मा समाज राष्ट्रिय महासंघले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी सांसद थापाले विभेदको पक्षमा वकालत गरेको भन्दै आपत्ति जनाएका छन् । पूर्वमन्त्री तथा संविधानसभा सदस्य जितु गौतम र मुक्ति समाज नेपालका महासचिव गणेश विश्वकर्माले सांसद थापाको विज्ञप्तिप्रति आपत्ति जनाए । साझा पार्टी कास्कीले शुक्रबार विज्ञप्ति जारी गरी ‘जातीय विभेद गर्ने र जातीय विभेद गर्नेलाई बचाउने गरी अभिव्यक्ति दिने प्रदेश सांसद’ दुवै पक्षलाई कानुनअनुसार कारबाही गर्न माग गरेको छ ।

प्रकाशित : वैशाख २६, २०७७ १९:२७

श्रोत : ई कान्तिपुर डटकम


सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको…
सेतीमदी बचत-तथा-ऋण सहकारी-संस्था लि. सदस्यहरूको अवलोकन भ्रमण 2080 फागुन ५ गते… श्रोत …
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा
माछपुच्छ्रे मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारीको आयोजनामा , मुक्तिनाथ कृषि कम्पनीको सहजीकरणमा युनिभर्सिटी …
Scroll to Top